क्वीन्सल्याण्ड, असार ३१ । १० देखि १४ वर्षका चार बालबालिकाले करिब एक हजार किलोमिटरसम्म अभिभावक वा चालक विना आफैं गाडी चलाएर आफूखुशी यात्रा गरे भन्दा जो कोहीलाई अनौठो लाग्न सक्छ ।
अस्ट्रेलियामा भने यस्तै एक घटना प्रकाशमा आएको छ । १० देखि १४ वर्षका चार बालबालिका देश घुम्ने योजनासहित सुटुक्क एउटा मोटर लिएर आफूखुशी एक हजार किलोमिटर टाढा पुगेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार रकह्याम्पटनबाट मोटर लिएर हिँडेका उनीहरु दुई दिनपछि झण्डै एक हजार किलोमिटर टाढा रहेको न्यू साउथवेल्स पुगेका थिए । रकम भुक्तानीविना नै इन्धन भर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरी आउनासाथ उनीहरुले आफूलाई गाडीभित्रै बन्द गरेका थिए । ढोका खोल्न नमानेपछि मेकानिकको सहायतामा प्रहरीले ढोका खोलेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार तीन बालक र एक बालिकाको समूह उक्त गाडीमा फेला परेपछि सोधपुछ गर्दा उनीहरुले कार चोरेर हिँडेको पत्ता लागेको थियो । उक्त गाडी ती चार बालबालिकामध्येकै एकजनाको पिताको रहेको प्रहरीको भनाइ छ । उनीहरुले ‘पिकनिक’ शैलीमा आफूहरु घुम्न हिँडेको प्रहरीसमक्ष बताएका छन् । उनीहरुले आ–आफ्नो घरबाट केही रकम, खाना, माछा मार्ने रडजस्ता सामानसमेत चोरेर लगेका थिए ।
उनीहरुमाथि कस्तो आरोपमा के कारवाही हुन्छ भन्ने प्रष्ट भइसकेको छैन । (एजेन्सी)