कोरोना महामारीका कारण जिल्लाभरीमा गरिएको निषेधाज्ञाको समयमा निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारी साधनबाट प्रहरीले रु एक लाख २८ हजार ६०० जरिवाना गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गत वैशाखदेखि हालसम्म निषेधाज्ञाको पालना नगर्ने ४६ व्यक्ति, दुई मोटरसाइकल तथा २४ चारपाङ्ग्रे सवारी साधनलाई कारबाही गरी उक्त जरिवाना असुल गरिएको हो ।
निषेधाज्ञा उल्लङ्घन गर्नेलाई प्रहरीले कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा २१ (२) बमोजिम कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गएको भए पनि पूरै नियन्त्रणमा आउन नसकेको भन्दै यहाँको स्थानीय प्रशासनले यही असार २० गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरेको छ ।
यसैगरी सार्वजनिक सवारी साधन पनि जोरबिजोर प्रणालीका आधारमा जिल्ला भर मात्रै सञ्चालन गर्न सकिने अनुमति दिइएको छ । बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १०ः०० देखि अपराह्न १ः०० बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ ।
विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाइने भएको छ ।