भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले अस्पतालका मेसु डा.तिवारीलाई संक्रमण पुष्टि भएको जानकारी दिए ।
आज (आइबार) विहान भरतपुर अस्पतालको फेसबुक पेजमार्फत जानकारी गराउँदै अध्यक्ष डा.अधिकारीले मेसुसहित प्रसुति विभागका प्रमुख डा.सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनले अस्पतालमा कार्यरत अर्का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको बताए ।
यसरी शनिबार गरिएको परीक्षणमा सरकारी अस्पतालका मात्रै तीन चिकित्सक र एक स्वास्थ्यकर्मीसहित चार जनामा संक्रमण पुष्टि भएको छ ।
अस्प्तालका अध्यक्ष डा.अधिकारीका अनुसार संक्रमण पुष्टि भएका चार जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको बताए । अस्पतालका मेसु डा.तिवारी अहिले अस्पतालकै एउटा क्याबिनमा रहेका छन् । डा.तिवारी कोरोना संक्रमितका बिरामीको व्यवस्थापनका लागि अहोरात्र खटिदै आइरहेका थिए ।