भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका एक जनाको अन्तिम संस्कार भइरहेका बेला स्थानीयले आफन्तमाथि आक्रमण गरेका छन् ।हिन्दूस्तान टाइम्सले जनाए अनुसार ७२ वर्षका एक पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो ।
मृत्युपछि उनको अन्तिम संस्कार गर्नको लागि मसान घाटमा लगियो र अन्तिम संस्कारको तयारी पनि भयो । तर, कोरोना भाइरसको संक्रमण फैलिने त्रासले स्थानीयले यसको विरोध गर्न थाले ।
अन्तिम संस्कारको लागि जाँदा परिवारसँगै प्रशासनका अधिकारी पनि थिए । अन्तिम संस्कारको प्रक्रिया सुरु हुनासाथ स्थानीयले यसको विरोध गरेका थिए ।
मृतकको शव जलाउन लाग्दा स्थानीयले लाठी, डण्डा र ढुंगाले प्रशासनका अधिकारी र मृतकका परिवारमाथि आक्रमण गरेको जनाइएको छ ।
स्थानीयको आक्रमणपछि परिवार र अधिकारीलाई बचाउनको लागि मृतकको आधा जलेको शव लिएर आफन्तहरु त्यहाँबाट भाग्न बाध्य भएको जनाइएको छ ।
मृतकका छोराले भने ‘हामी एक राजश्व अधिकारी र एक मेडिकल टिमसँग अन्तिम संस्कारको लागि निर्धारित स्थानमा गएका थियौं । दामान क्षेत्रको एक आर्यघाटमा चितामा शव जलाउँदै गर्दा ठूलो संख्यामा स्थानीय त्यहाँ पुगे र अन्तिम संस्कार रोक्न लागे ।’
दाहसंस्कारमा मृतककी पत्नी, दुई छोरा र नजिकका आफन्त मात्र थिए ।
उनीहरुले ज्यान बचाउन आधा जलेको शवलाई एम्बुलेन्समा लिएर भागेको हिन्दूस्तान टाइम्सले जनाएको छ ।